Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | (रासस)

दमौली (तनहुँ), ३० कात्तिकः नेपालको राष्ट्रिय झण्डासहितको विशाल पार्क निर्माणका लागि तनहुँमा देउसीभैलो अभियान सञ्चालन गरिएको छ । बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माणाधीन झण्डा पार्कलाई पूर्णता दिन आवश्यक रकम जुटाउने उद्देश्यले स्थानीयवासीले देउसीभैलो अभियान सुरु गरेका हुन् ।

    अभियानअन्तर्गत बन्दीपुरका विभिन्न ठाउँमा सञ्चालित देउसीभैलोबाट रु तीन लाख ५० हजारभन्दा बढी रकम सङ्कलन भएको छ । राष्ट्रिय झण्डाको महत्व र पार्क निर्माणको उद्देश्यलाई प्रचार गर्दै स्थानीयवासी बजारका विभिन्न स्थानमा पुगेर सहयोग सङ्कलनमा जुटेका छन् । झण्डा पार्क निर्माण समितिका सचिव टीकाराम गिरीले जिल्लाका विभिन्न ठाउँमा पुगेर देउसीभैलो सञ्चालन गरिने जानकारी दिनुभयो । 

    सो अभियानअन्तर्गत आज तनहुँको सदरमुकाम दमौलीमा झण्डा प्रदर्शनसहित देउसीभैलो खेलिएको छ । निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार पार्क निर्माणका लागि आवश्यक स्रोत जुटाउन देउसीभैलो अभियान सञ्चालन गरिएको हो । 

    बन्दीपुर–१ तल्लोटारमा निर्माण भइरहेको पार्कमा विशाल राष्ट्रिय झण्डा राख्ने योजना छ । पार्कमा ६७ फिट अग्लो झण्डाको स्तम्भ निर्माण गरी ४५ फिट लम्बाइ र ३० फिट चौडाइको राष्ट्रिय झण्डा फहराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरव र पहिचानसँग जोडिएको यस योजनालाई स्थानीयवासीले सामूहिक अभियानका रूपमा अघि बढाएका छन् ।

    पार्क निर्माणका क्रममा हालसम्म रु १५ लाखभन्दा बढीको काम श्रमदानबाट सम्पन्न भइसकेको संयोजक रानाले जानकारी दिनुभयो । स्थानीयवासीको सक्रिय सहभागिता र सामूहिक श्रमबाट निर्माणको काम अघि बढाइएको हो । आर्थिक स्रोतको अभावका बाबजुद स्थानीयको उत्साह र सहयोगले पार्क निर्माणलाई निरन्तरता दिइएको छ ।

    पृथ्वीराजमार्ग नजिकै पार्क निर्माण भइरहेको हुँदा यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ । पोखरा र काठमाडौँ आवतजावत गर्ने यात्रु तथा पर्यटकले सहजै अवलोकन गर्न सक्ने स्थानमा पार्क बन्ने भएकाले यसले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ ।

    पार्क निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दासँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि यो आकर्षणको केन्द्र बन्न सक्नेछ । विशेषगरी पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई केही समय रोकिएर अवलोकन गर्न मिल्ने स्थलका रूपमा विकास गर्ने योजना छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan