Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | (रासस)

काठमाडौँ, ३० कात्तिक: शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेसँगै यतिबेला ठमेलका गल्लीहरूमा विदेशी पर्यटकको उपस्थिति बाक्लिएको हो ।

    पर्यटकीययाम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ । नेपालमा सेप्टेम्बर, अक्टोबर र नोवेम्बर महिना पर्यटकीय महिनाका रूपमा लिइन्छ । ठमेलको त्रिदेवीमार्गस्थित रेड कास्मिर पश्मिना व्यवसाय गर्दै आउनुभएका अनुप श्रेष्ठले भोटेकोशी बाढीबाट थला परेको नेपालको पर्यटन व्यवसाय विस्तारै लयमा फर्केसँगै यहाँका व्यवसायीमा उत्साह थपेको बताउनुभयो ।

    “देशमा विभिन्न समयमा हुने विपद्का घटनाले व्यवसायीलाई निराशा बनाउँदै आएको छ । त्यसका बाबजुदपनि नेपाललाई विदेशी पर्यटकको साथ र सहयोग निरन्तर रहँदा निराशासँगै उत्साह थपेको छ”, उहाँले भन्नुभयो । श्रेष्ठले पश्मिना व्यवसायमा पछिल्लो समय नक्कली पश्मिना उत्पादन गरी सस्तो दरमा बिक्री गर्दा लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायी मारमा परेका बताउनुभयो ।

    ठमेलको लेखनाथ मार्गस्थित काठमाडौँ आगन्तुक होटलका सञ्चालक पशुपति कँडेलले विगतको तुलनामा पर्यटकको सङ्ख्या बढे पनि व्यवसाय भने घटेको बताउनभयो । “हस्पिटालिटी क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धा र सस्तो मूल्यमा होटलका कोठा बिक्री गर्दा विगतको तुलनामा व्यवसाय घटेको छ”, उहाँले भन्नुभयो । सुरुको समयमा केही निराशाजस्तो भएपनि पछिल्लो समय भने ठमेलमा पर्यटकको चहलपहल राम्रो रहेको उहाँको भनाइ छ ।

    ठमेलस्थित अमृत मार्गमा सगुन पुस्तक पसल सञ्चालन गर्दै आउनुभएका किरणदेव घिमिरेले पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुभयो । “पछिल्लो समय ठमेलका पसलमा विदेशी पर्यटक देखिन थालेका छन्”, उहाँले भन्नुभयो ।

    नेपाल आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न आउने गरेका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलका गल्लीमा विदेशी पर्यटक क्रमश: बढ्न थालेको बताउनुभयो । “पर्यटकीययाम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सहजता र सुरक्षाका लागि परिषद्ले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

    रातको समयमा ठमेलभित्र हुने भीडभाड र शान्ति सुरक्षालाई मध्यनजर गरी परिषद्ले नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी, महानगर प्रहरीसँग सहकार्य गरेर सुरक्षा योजनासमेत बनाइरहेको उहाँको भनाइ छ । काठमाडौँको प्रमुख पर्यटकीय, सांस्कृतिक तथा व्यावसायिक केन्द्रका रूपमा मानिएको ठमेलले लामो समयदेखि अन्तरराष्ट्रिय पहिचान बनाएको छ । पदयात्रा, पर्वतारोहण, किनमेल, रेस्टुरेण्ट, सांस्कृतिक अनुभव र रात्रिकालीन मनोरञ्जनका लागि ठमेल विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ ।

    नेपालका हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकका लागि आवश्यक पर्ने ज्याकेट, जुत्ता, ब्याग, ट्रेकिङ सामग्री र अन्य उपकरण ठमेलमा सहजै उपलब्ध हुन्छन् । त्यसैले नेपाल आउने धेरै पर्यटकको भ्रमण सूचीमा ठमेल पर्ने गरेको छ । होटल, ट्राभल एजेन्सी, ट्रेकिङ पसल, रेस्टुरेण्ट, बार, स्पा, ट्याटु स्टुडियो र अन्य सेवा व्यवसायको बाक्लो उपस्थितिले ठमेललाई पर्यटनसँग जोडिएका विभिन्न व्यवसायको केन्द्र बनाएको छ । 

    ठमेल काठमाडौँ महानगरपालिका-१६, १७, २६ र २७ मा फैलिएको छ भने यसको ठूलो हिस्सा वडा नम्बर २६ मा पर्दछ । पर्यटकीययाममा ठमेलमा देखिएको चहलपहलले नेपालको पर्यटन क्षेत्र प्राकृतिक विपत्तिका चुनौतीबीच पनि आफ्नो गतिमा फर्किन खोजिरहेको सङ्केत गरेको छ । पर्यटकको आगमनसँगै होटल, रेस्टुरेन्ट, यातायात, ट्रेकिङ, किनमेल र अन्य सेवा व्यवसायमा आर्थिक गतिविधि बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् ।

    ठमेलमा बढेको विदेशी पाहुनाको चहलपहलले यस वर्षको पर्यटकीय सिजनप्रति व्यवसायीमा नयाँ आशा जगाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार हवाई मार्ग हुँदै सन् २०२६ को १० महिनामा १० लाख आठ हजार ६१६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये अक्टोबरमा मात्र एक लाख ३२ हजार ८१४ पर्यटक नेपाल आएका हुन् ।

    बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३, फ्रेबुअरीमा एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४, मेमा एक लाख दुई हजार ६२६, जुनमा ९१ हजार ३६३, जुलाईमा ७६ हजार ३७, अगष्टमा ९१ हजार ५६ र सेप्टेम्बरमा ८८ हजार २५६ विदेशी पर्यटक नेपाल आएका छन् ।

    पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य सहदेव धमलाले पछिल्लो समय नेपालमा पर्यटक आगमनको सङ्ख्या समग्र रूपमा बढेको बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्म पर्यटक आगमनमा पाँच दशमलव ३६ प्रतिशतले बढेको हो ।

    अप्रिलमा सात दशमलव तीन प्रतिशत घटेका, मेमा १९ दशमलव तीन प्रतिशत बढेको, जुनमा १९ दशमलव पाँच प्रतिशत बढेको, जुलाईमा दुई दशमलव तीन प्रतिशत बढेको, अगस्टमा तीन दशमलव छ प्रतिशत घटेको, सेप्टेम्बरमा १२ दशमलव एक प्रतिशत बढेको र अक्टोबरमा तीन दशमलव चार प्रतिशतले बढेको धमलाले जानकारी दिनुभयो ।

    यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि कात्तिक २० गतेसम्म ७७ देशका एक हजार ६१३ आरोहीले अनुमति लिएका पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल आउने अधिकांश पर्यटक नेपालका हिमालको अवलोकन तथा आरोहणका लागि आउने गरेका छन् ।

    यसवर्षको शरद ऋतुमा नेपालका ४७ हिमाल आरोहणका लागि आरोहण अनुमति प्रदान गरेबापत पर्यटन विभागले रु ३३ करोड २९ लाख चार हजार ९२२ राजस्व सङ्कलन गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan