पाकिस्तानी राजदूत आमिर खानले पूर्वकप्तान मिसबाह उल हकलाई दिए रात्रिभोज
काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत महामहिम मोहम्मद आमिर खानले पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक मिसबाह उल हकलाई काठमाडौंमा रात्रिभोजसहित स्वागत गरेका छन्।
राजदूत आमिर खानले गत साँझ आयोजना गरेको रात्रिभोजमा पाकिस्तानी क्रिकेटका चर्चित व्यक्तित्व मिसबाह उल हक सहभागी भएका थिए। क्रिकेटमार्फत नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध, मित्रता र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पाकिस्तान क्रिकेटका सफल पूर्वकप्तानमध्ये एक मिसबाहको नेतृत्वमा पाकिस्तानले सन् २०१२ मा एसिया कपको उपाधि जितेको थियो। त्यस्तै, उनको कप्तानी तथा नेतृत्वमा पाकिस्तानको टेस्ट क्रिकेट टोली सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टेस्ट वरीयतामा विश्वको पहिलो स्थानमा पुगेको थियो।
क्रिकेट क्षेत्रमा आफ्नो कुशल नेतृत्व, अनुशासन र योगदानका कारण अन्तर्राष्ट्रिय पहिचान बनाएका मिसबाह अहिले नेपालमा जारी नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकका रूपमा आबद्ध छन्।
रात्रिभोजका क्रममा क्रिकेटलाई नेपाल र पाकिस्तानबीचको साझा रुचि र आत्मीयताको माध्यमका रूपमा प्रस्तुत गरिएको थियो। खेलकुदले दुई देशका नागरिकलाई नजिक ल्याउनुका साथै पारस्परिक समझदारी, सद्भाव र मित्रतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
नेपाल र पाकिस्तानबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई खेलकुदको माध्यमबाट थप उचाइमा पुर्याउने सन्देशसमेत यस भेटले दिएको छ।


