मस्कोतर्फ लक्षित १३९ युक्रेनी ड्रोन रुसले खसाल्यो
मस्को, ३० कात्तिक : रुसले राजधानी मस्कोतर्फ लक्षित १३९ वटा युक्रेनी ड्रोन रातभरको कारबाहीमा खसालेको जनाएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार रुसी हवाई प्रतिरक्षा प्रणालीले रातभरदेखि सोमबार बिहानसम्म ती ड्रोनहरूलाई सफलतापूर्वक निष्क्रिय पारेको हो ।
सोब्यानिनले टेलिग्राममार्फत जानकारी दिँदै ड्रोनका अवशेष खसेका स्थानमा आपत्कालीन सेवाका टोलीहरू परिचालन गरिएको बताएका छन् ।
यो आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभन्दा केही दिनअघि भएको हो ।
यसअघि युक्रेनी सेनाले रुसभित्र रहेका महत्वपूर्ण संरचनालाई लक्षित गर्दै आक्रमण गरेको थियो । युक्रेनी आक्रमणमा रुसको एक प्रमुख पेट्रोकेमिकल उद्योग, तेल प्रशोधन केन्द्र र सैन्य सामग्री उत्पादन गर्ने कारखानालाई निशाना बनाइएको बताइएको छ ।
यसैबीच, चीनको विदेश मन्त्रालयले आगामी नोभेम्बर १९ मा राष्ट्रपति सी चनफिङले अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनसँग चीनको सेन्जेनमा भेटवार्ता गर्ने पुष्टि गरेको छ । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा हुन लागेको उक्त त्रिपक्षीय भेटवार्ताको विस्तृत कार्यसूची भने सार्वजनिक गरिएको छैन ।
अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले उक्त भेटमा आणविक हतियार न्यूनीकरण र इरानसँग सम्बन्धित द्वन्द्वका विषयमा छलफल गर्ने तयारी गरेका छन् । तर, रुसले युक्रेनमाथि जारी राखेको युद्धको विषय भने उक्त त्रिपक्षीय वार्तामा उठ्ने सम्भावना नरहेको बताइएको छ ।
रुस र युक्रेनबीच युद्ध जारी रहँदा दुवै पक्षले एकअर्काका महत्वपूर्ण सैन्य तथा औद्योगिक संरचनालाई लक्षित गर्दै आक्रमण तीव्र बनाएका छन् । यस्तो अवस्थामा विश्वका तीन प्रमुख शक्तिका नेताबीच हुन लागेको भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।


