गाजाको मानवीय सङ्कटप्रति चार देशको चिन्ता, सहायता तत्काल खुलाउन माग
गाजा, ३० कात्तिक : गाजामा बढ्दो मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै अस्ट्रेलिया, क्यानडा, इटाली र बेलायतले इजरायल सरकारलाई अत्यावश्यक राहत सामग्री तत्काल प्रवेश गर्न दिन आग्रह गरेका छन् ।
चार देशका विदेशमन्त्रीहरूले सोमबार संयुक्त वक्तव्य जारी गर्दै गाजाको मानवीय अवस्था अत्यन्तै गम्भीर बनेको बताएका हुन् । जाडो मौसम सुरु भएसँगै त्यहाँका सर्वसाधारणलाई सुरक्षित आश्रय, खाद्यान्न तथा अन्य अत्यावश्यक मानवीय सहायताको आवश्यकता बढ्दै गएको उहाँहरूको भनाइ छ ।
विदेशमन्त्रीहरूले गाजामा रहेका नागरिकहरू अहिले कठिन परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै मानवीय सहायता वितरणमा भइरहेको अवरोध तत्काल हटाउन इजरायलसँग आग्रह गरेका छन् ।
‘यो अवस्था पूर्ण रूपमा सुधार गर्न सकिने खालको छ र जाडो मौसम पूर्ण रूपमा सुरु हुनुअघि पनि आवश्यक कदम चाल्ने समय बाँकी छ,’ संयुक्त वक्तव्यमा भनिएको छ ।
उहाँहरूले इजरायल सरकारलाई राहत सामग्री प्रवेशमा भइरहेको ढिलाइ तत्काल रोक्न तथा गाजाका सबै क्षेत्रमा मानवीय सहायता छिटो, निर्बाध र अवरोधरहित रूपमा पुर्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
संयुक्त वक्तव्यमा विशेषगरी अत्यावश्यक राहत सामग्री सीमा क्षेत्रमा रोकिएको विषयलाई गम्भीर रूपमा उठाइएको छ । विदेशमन्त्रीहरूका अनुसार करिब एक लाख ५० हजार पालसहितका महत्वपूर्ण राहत सामग्री गाजामा प्रवेशको प्रतीक्षामा सीमा क्षेत्रमा थन्किएका छन् ।
जाडो मौसम नजिकिँदै गर्दा पर्याप्त आश्रयको अभावमा रहेका गाजाका नागरिकको अवस्था थप कठिन बन्न सक्ने भन्दै चार देशले तत्काल मानवीय सहयोग आवश्यक रहेको बताएका छन् ।
उहाँहरूले मानवीय आवश्यकतालाई प्राथमिकतामा राख्दै राहत सामग्री वितरणमा कुनै अवरोध हुन नहुनेमा जोड दिएका छन् ।
गाजामा मानवीय सहायता पुर्याउने विषय अन्तर्राष्ट्रिय समुदायको चासोको विषय बन्दै गएको छ । विशेषगरी विस्थापित नागरिकका लागि अस्थायी आवास, खाद्यान्न तथा अन्य आधारभूत सामग्रीको उपलब्धता सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
अस्ट्रेलिया, क्यानडा, इटाली र बेलायतको संयुक्त आग्रहसँगै गाजामा मानवीय सहायता प्रवेश सहज बनाउने विषयमा इजरायलमाथि अन्तर्राष्ट्रिय कूटनीतिक दबाब थपिएको छ ।


