Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छठ व्रत बसेका व्रतालुले दिए अस्ताउँँदै गरेको सूर्यलाई अर्घ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |

बारा, २९ कात्तिक: निर्जला उपासनाको कठिन व्रतका रूपमा परिचित छठ व्रत बसेका बाराका व्रतालुले आज अस्ताउँदै गरेका सूर्यलाई अर्घ दिएका छन् । व्रतालुहरू अपराह्नदेखि गाउँ टोल नजिकको छठीघाटमा पुगेर छठी माताको प्रतिमा ‘सिरसोप्ता’ को पूजाआजा गरेपछि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । 

    अर्घ दिएर राति अबेरसम्म छठघाटमै बसेर छठीमातासँग प्रार्थना गर्ने चलन रहेको छठ व्रत बसेकी कलैया उपमहानगरपालिका-१६ की कान्ती देवीले बताउनुभयो । भोलि बिहान उदाउँदै गरेको सूर्यको पहिलो किरणलाई अर्घ दिँदै व्रतालुले छठ व्रतलाई विधिवत समापन गर्ने उहाँले जानकारी दिनुभयो ।

    यसअघि व्रतालुले शनिबार राति खरना विधि अर्थात् रसियाव रोटी मनाएका थिए । तराईमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरुको महान् पर्वका रूपमा परिचित यस पर्वका लागि खरना विधि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको यो पर्वको पहिलो दिन बारा सदरमुकाम कलैयालगायत जिल्लाभरिका व्रतालुले नहाय खाय विधि पूरा गरेका थिए । व्रतालुहरू शुद्धतापूर्वक आफँैले पकाएको सात्विक भोजन ग्रहन गरेका थिए ।  

    पर्वको तेस्रो अर्थात् मुख्य दिन आज व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउँदै छन् । व्रतालुहरूले घर नजिकको पोखरी, नदी, सरोवर आदिमा निर्माण भएको छठी घाटमा साँझपख अस्ताउँदै गरेको सूर्यलाई बासको सुपुली र दउरामा पूजा सामग्री राखेर अर्घ दिइएको कलैया उपमहानगरपालिका–१६ का वडाध्यक्ष शेषनाथप्रसाद साहले बताउनुभयो । 

    अहिले बारा सदरमुकाम कलैयास्थित रामजानकी मठ, सिद्धेश्वर मन्दिर, बरेवा मन्दिरस्थित रहेको छठीघाटसहित जिल्लाको प्रसौनी, उत्तरझिटकैया, मझौलिया, दाहोरी, ब्रम्हपुरी, सिम्रौनगढ, कोल्हवी, जितपुर, परवानीपुर, विश्रामपुर, बरियारपुर, मंजभवानीपुर, सखुई, मनहर्वा लगायतका स्थानमा रहेको छठीघाट अहिले व्रतालु तथा तिनका आफन्तद्वारा भरीभराउ छ । 

    छठ गीत र पटाखाले छठीघाट गुञ्जयमान भएका छन् । सबैले नयानयाँ लुगा लगाएर छठीघाटमा पुगेपछि त्यहाँको दृश्य रङ्गीचङ्गी बनेको स्थानीयको भनाइ छ । घरमा कोशी भाकल गरेका व्रतालु घर फर्केर कोशी भरी पुन: बिहान छठघाटमै फर्किने छन् । रातभरिको जाग्रामपछि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिँदै कठिन व्रत समापन गर्ने बताइएको छ । 

    व्रत समापन भएको अन्तिम दिन व्रतालुले गाउँ घरमा रहेका इनार, चापाकल, घरमा भएका सवारीसाधन, गाई, गोरु, पति तथा आफ्ना अग्रज, मठमन्दिर आदिमा पूजा गर्दै घर फर्किन्छन् । पूजा समाप्त गरेपछि घरमा बनेको मिठो परिकार खाने चलन रहेको अर्का व्रतालु ललिता देवीले बताउनुभयो । 

    “हिन्दूले मान्ने पर्वमध्ये छठ व्रत सबैभन्दा कठिन व्रत मानिन्छ”, उहाँले भन्नुभयो, ‘‘यो पर्वमा व्रतालुले निर्जल, निराहार बस्छन् ।” व्रत अवधिमा पानीसमेत सेवन गर्दैनन् । शौच गर्ने वित्तिकै नुहाइधुवाइ गरेर नयाँ कपडा फेर्ने चलनसमेत रहेको उहाँले जानकारी दिनुभयो ।  

    व्रत समाप्त भएपछि छठ पर्वको प्रसाद छर छिमेक इष्टमित्र कहाँ पठाउने र विवाह गरेर गएका छोरी बेटीलाई बायन पठाउने चलन रहिआएको छ । छठ व्रत बस्दा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने र मनोकांक्षापूर्ण हुने जनविश्वास रहेको कारणले तराई भेगमा मानिँदै आएको यो पर्व विस्तारै पहाडी र हिमाली भेगमा मनाउन थालिएको छ ।

    श्रद्धाभक्ति र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा स्थापित छठ व्रत तराई मुलका ९५ प्रतिशत हिन्दू महिलाले मान्ने गर्छन् । यस पर्वलाई तराई भेगमा बसोबास गर्दै आएका पहाडी मूल, माडवारी र बङ्गाली समुदायका महिलाले अत्यन्त श्रद्धा र भक्ति पूर्वक मान्ने परम्परा बढ्दै गएको जानकारको भनाइ छ ।

    तराईमा सीमित रहेको छठ व्रत विस्तारै फैलिँदै हेटाैँडा, नारायणगढ हुँदै सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा फैलिएको छ । खासगरी महिलाले बस्ने यस व्रत बस्न कुनै कारण घरकाने महिला असमर्थ भएको खण्डमा परिवारका पुरुष सदस्यले यो व्रत बसेर भए पनि व्रतलाई निरन्तरता दिनुपर्ने मान्यता रहिआएको छ ।  

    छठ पर्वको लागि अनिवार्य मानिने पूजा सामग्रीमा माटोको भाडो (ढकनी), हात्ती, दियो, बासको भाडाहरू (दौरी, सुपुली, छैँटी), उखु, नरिवल, आलसको तेल, फलफूल, चिनीको विशेष किसिमको मिठाइ बतासा, पहेँलो धोतिलगायत पर्दछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan