Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भक्तपुरका कमलपोखरीमा भक्तजनले मनाए छठ पर्व

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस)

ख्वप (भक्तपुर), २९ कात्तिक : भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा छठ पर्व मनाउन १०० भन्दा बढी व्रतालु तथा भक्तजन जुटेका छन् । सूर्यदेव र छठी माताको आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै मनाइने यो पर्वका लागि कमलपोखरीलाई सजाएर पूजाको आवश्यक तयारी गरिएको छ ।

    भक्तपुर नगरपालिका-१० स्थित नगरकोट बसपार्कसँगै रहेको कमलपोखरीमा प्रत्येक वर्ष तराई मूलका नेपालीले सामूहिक रूपमा छठ पर्व मनाउँदै आएका छन् । विशेषगरी तराईलाई मूल घर बनाइ हाल भक्तपुर तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका परिवारका साथै काठमाडौँको कोटेश्वर, काभ्रेको बनेपालगायत स्थानबाट समेत भक्तजन यहाँ आउने गरेका छन् ।

    भक्तपुर छठ पर्व परिवारका अध्यक्ष नन्दलाल दासले व्रतालु तथा भक्तजनको सहजतालाई ध्यानमा राखेर हरेक वर्ष छठ पर्वको व्यवस्थापन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार छठ पर्वमा सहभागी हुन एक जनाका लागि रु दुई हजार ५०० का दरले नामदर्ता शुल्क लिने गरिएको छ । उक्त शुल्कबाट भक्तजनका लागि चियापान, खानपान तथा बसोबासको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

    अध्यक्ष दासले विगत १४ वर्षदेखि कमलविनायकमा छठ पर्व व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो । छठको तयारीसँगै कमलपोखरी परिसरमा सरसफाइ, सजावट, मञ्च निर्माण तथा टेण्ट राख्ने काम गरिएको उहाँले बताउनुभयो । पोखरीको दक्षिणतर्फ पूजाका लागि मञ्च निर्माण गरिएको छ भने दक्षिण र पूर्वी किनारमा व्रतालु तथा भक्तजनको सुविधाका लागि लहरै त्रिपाल राखिएका छन् ।

    स्थानीय विकुराम तजलेले कमलपोखरीमा प्रत्येक वर्ष धुमधामका साथ छठ पर्व मनाउने गरिएको बताउनुभयो । विगतका वर्षमा पर्वका अवसरमा पोखरी परिसर भक्तजनले भरिने गरेको स्मरण गर्दै उहाँले विशेषगरी तराई मूलका समुदायको उल्लेख्य सहभागिता रहने गरेको जानकारी दिनुभयो ।

    पर्वमा सहभागी सुरेश यादवले विगत केही वर्षदेखि सङ्गठित रूपमा छठ पर्व मनाउँदै आएको बताउनुभयो । उहाँका अनुसार भक्तपुर छठ पर्व परिवार, कमलविनायकको संयोजनमा पर्वको व्यवस्थापन तथा पूजाका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

    भक्तपुर नगरभित्र रहेका ३४ वटा साना-ठूला पोखरीमध्ये पूर्वी क्षेत्रमा रहेको कमलपोखरी छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा परिचित छ । यहाँ प्रत्येक वर्ष ठूलो सङ्ख्यामा व्रतालु तथा श्रद्धालु भेला भई सामूहिक रूपमा पर्व मनाउने गरेका छन् ।

    छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा छ । सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिने गर्दछ । यस पर्वलाई प्रकृति र सूर्यप्रति कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा समेत लिइन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan