कांग्रेस महाधिवेशनमा क्षति पुगेको खुलामञ्चमा दुबो रोपियो
काठमाडौँ, २९ कात्तिक: नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चमा दुबो रोपिएको छ । कांग्रेस महानगर समितिको आयोजनामा पार्टीको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन दुबो रोपिएको हो ।
महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुन:रोपन तथा संरक्षण गर्न आज पार्टीका नेता-कार्यकर्ता खुलामञ्चमा जुटेका हुन् । पार्टीले कार्यक्रमअघि सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुन:स्थापना गर्ने काम सुरु गरेको हो ।
आज कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता, कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका छन् । क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको कांग्रेस महानगरका सभापति इन्जिनीयर सुशन वैद्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको काम पनि भइरहेको छ । सभापति वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताउनुभयो । कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उहाँले स्मरण गर्नुभयो ।
“महाधिवेशन स्थलका रूपमा हामीले खुल्लामञ्च प्रयोग गर्दा वर्षाका कारण अनुमान गरेभन्दा केही बढी क्षति भएको छ । दुई दिन परेको भारी वर्षा र हजारौँ मानिसको आवतजावतका कारण दुबो बिग्रिएको हो । त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।
उहाँले खुलामञ्च कुनै एउटा राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताउनुभयो । सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक मुद्दा मात्र नभई राजनीतिक दलको नैतिक जिम्मेवारी पनि भएको उहाँको भनाइ छ । दुबो रोप्ने कार्यक्रममा पार्टीकी सहमहामन्त्री प्रतिमा गौतम, केन्द्रीय सदस्यहरु जनक चट्टौत, लेखनाथ पोखरेल, सीता मिजारलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।


