Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चौँरीपालन अवस्था, चुनौती र सम्भावना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | डा आलोक प्रसाई (रासस)
newsabhiyan

काठमाडौँ, ३० कात्तिक : नेपालको हिमाली क्षेत्रको अर्थतन्त्र, संस्कृति र जीविकोपार्जन प्रणालीसँग चौँरीपालन अभिन्न रूपमा जोडिएको छ ।

याक र स्थानीय गाईको संकरणबाट विकसित चौँरी उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आयास्रोत, पोषणको आधार तथा यातायातको माध्यमका रूपमा रहँदै आएको छ तर पछिल्लो समय जलवायु परिवर्तन, चरन क्षेत्रको विनास, युवा पुस्ताको वैदेशिक पलायन, उत्पादन लागत वृद्धि र बजार व्यस्थापनको कमजोरीका कारण चौँरीपालन व्यवसाय सङ्कटग्रस्त बन्दै गएको छ ।

चौँरीपालनलाई कृषि, पर्यटन र स्थानीय आर्थिक विकाससँग एकीकृत गर्नसकेमा नेपालको हिमाली क्षेत्रको दिगाो विकासमा महत्वपूर्ण योगदान पुग्न सक्दछ । हिमाली जिल्लाको भरपर्दो विकासको आधार र पर्यटकीय आकर्षणको पहिचान, प्रवद्र्धन र बजारीकरणमा हिमाली गाईलाई महत्वपूर्ण माध्यमका रुपमा लिन सकिन्छ । 

नेपालको कूल भूभागको करिब ३५ प्रतिशत हिस्सा हिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्दछ । यी क्षेत्रका वासिन्दाहरूको जीवनयापन प्राकृतिक स्रोत र पशुपालनमा आधारित रहेको छ । त्यसमध्ये चौँरीपालन परम्परागत तथा आर्थिक दृष्टिले महत्वपूर्ण व्यवसाय मानिन्छ ।

चौँरी केवल दूध दिने घरपालुवा जनवार मात्र नभई हिमाली समुदायको सभ्यता, संस्कृति र अर्थतन्त्रको महत्वपूर्ण आधारसँग पनि जोडिएको छ । हिमाली समुदायले चौँरीबाट दूध, घ्यू, छुर्पी, दही, चिजलगायतका वस्तुको उत्पादन गर्दछन् । साथै, एक स्थानवाट अर्को स्थानसम्म सामान लैजानका लागि ढुवानी, पर्यटनका लागि दृष्यावलोकन तथा अध्ययन र कृषि कार्यमा समेत यसको उपयोग गर्दै आएको छ । 

बढ्दो सहरीकरण, आधुनिक जीवनशैली तथा वैदेशिक रोजगारीको प्रभावले चौँरीपालन व्यवसाय क्रमशः घट्दो अवस्थामा पुगेको छ । हिमाली बस्तीहरु बसाई सर्ने, सुविधाको खोजीमा अन्य क्षेत्रमा जाने, प्रतिस्पर्धात्मक चिन्तनबाट आफ्नो स्थान छाड्ने जस्ता विषयवस्तुको कारण गाउँ उजाड हुँदै गएको छ ।

गोठ तथा गोठालाको कमी, व्यवसायको हस, खरिदबिक्रीमा असहजता, पैठारीमा समस्या, विमाको समस्या, रोग तथा भैपरि आउने समस्याले यसको पालनमा ठूलो समस्या आएको देखिन्छ । 

चौँरीको विकासक्रम 
चौँरीको विकासक्रम याक र स्थानीय गाईबीचको समिश्रणबाट उत्पन्न हुने प्रजाति चौँरी हो । हजारौं वर्षदेखि हिमाली क्षेत्रमा परम्परागत याक रहेको, यसको पालन हुँदै आएको विभिन्न तथ्याङ्कहरुले स्पष्ट पारेको छ । स्थानीय गाई र याकबीचको प्राकृतिक तथा नियमित सम्भोगबाट चौँरी जातिको विकास भएको मानिन्छ ।

नेपाल, तिब्बत, भूटान तथा भारतका विभिन्न प्रान्त सिक्किम, लद्दाख र अरूणान्चल प्रदेशमा चौँरीपालनको परम्परा विकसित भएको पाइन्छ ।

नेपालमा हिमाली जिल्लाहरुमा व्यावसायिक रुपमै चौँरीपालन भएको पाइन्छ । विशेषगरी कोशी प्रदेशका सोलुखुम्बु, भोजपुर, इलाम, ओखलढुङ्गा, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, रसुुवा, रामेछाप, नुवाकोट, धादिङ गण्डकी प्रदेशको मुस्ताङ, मनाङ, गोरखा, कास्की, म्याग्दी, लमजुङ, लुम्बिनी प्रदेश रुकुम, कर्णाली प्रदेशको डोल्पा, हुम्ला, मुगु, जुम्ला, कालीकोट, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बाजुरा जिल्लाहरुमा पाइन्छन् । नेपालमा यसको सङ्ख्या करिब एक लाख रहेको छ भने सबैभन्दा धेरै कोशी प्रदेशमा रहेको देखिन्छ ।

याक, चाँैरी, तोले र खच्चड हिमाली तथा उच्च पहाडी क्षेत्रका महत्वपूर्ण पशु हुन् । कतिपयलाई यी सबै एकै प्रजाति हुन् भन्ने भ्रम पनि हुनसक्छ तर यथार्थता भने यसको प्रजनन विकास भिन्नै प्रकारको रहेको छ ।

यिनीहरुको नाम, काम बसाइ, खुवाइ तथा उस्तै हावापानीमा रहने भएता पनि यसको पहिचान बिल्कुल फरक रहेको छ । याक शुद्ध हिमाली जात हो । यसमा कुनै मिस्रित अवस्था रहेको हँुदैन ।

याक तीन हजार मिटरभन्दा माथि उच्च हिमाली भागमा बस्ने जनावार हो । यसको दूध, मासुुको उपभोगका साथै  सामान ढुवानीमा पनि प्रयोग गरिन्छ । यसलाई चीन तथा तिब्बतसँग जोडिएका स्थानहरुमा निर्यात गर्ने र स्थानियको आयआर्जन सुधार ल्याउने साधनका रुपमा प्रयोग हुँदै आएको छ ।

याक सामान्यतया ३–४ वर्षको उमेरमा प्रजननयोग्य हुन्छ र वर्षमा प्रायः एक वटा बाच्छा जन्माउँछ । यसको गर्भधारण अवधि करिब २५५–२७० दिन हुन्छ र उचित व्यवस्थापनमा २०–२५ वर्षसम्म बाँच्न सक्छ । वयस्क भाले याकको तौल ३५०–६०० केजी तथा पोथीको २००–३५० केजीसम्म हुन्छ । यसको बजार मूल्य करिब रु एक लाखदेखि चार लाखसम्म पर्दछ । 

चौँरी (याक र स्थानीय गाईको मिस्रण) पनि प्रायः वर्षमा एक बाच्छा जन्माउने क्षमता राख्छ, यसको आयु १८–२५ वर्षसम्म हुन्छ र तौल २५०–४५० केजीसम्म पुग्न सक्छ ।

यसको मूल्य करिव रु एक लाखदेखि तीन लाखसम्म पर्दछ ।  तोले (चौरी र गाई वा चौरी वंशको अर्को प्रकार) आकारमा केही सानो हुन्छ, सामान्यतया २००–३५० केजी तौलको हुन्छ र राम्रो व्यवस्थापनमा १५–२० वर्षसम्म बाँच्न सक्छ । यसको प्रजनन क्षमता हुँदैन ।

यसको मूल्य करिब रु ७० हजारदेखि दुई लाखसम्म पर्दछ । खच्चड (घोडा र गधाको संयोग) भने प्रायः बाँझो हुने भएकाले प्रजनन गर्न सक्दैन । यसको आयु ३०–४० वर्षसम्म हुन सक्छ र तौल ३५०–५०० केजीसम्म हुन्छ । यसको मूल्य करिब रु एक लाखदेखि पाँच लाखसम्म पर्दछ । 

हिमाली क्षेत्रमा पालन गरिने यी सबै पशुहरूको मुख्य आहार प्राकृतिक घाँस, हिमाली चरन क्षेत्रका जडीबुटी, झाडीका कोपिला, घाँस, पराल तथा आवश्यक परेमा दाना र खनिज मिश्रण हुन् । यी घरपालुवा जनावारहरु कठिन हिमाली भौगोलिक अवस्थामा अनुकूलित भएकाले लामो दूरी हिँड्न र उकालो–ओरालो पार गर्न सक्षम हुन्छन् ।

याक र चौँरी सामान्यतया घण्टामा २०–३० किलोमिटरसम्म दौडन सक्छन् भने खच्चड ४०–५० किलोमिटरसम्मको गतिमा दौडन सक्ने र भारी सामान बोक्न अत्यन्त सक्षम हुन्छन् ।

वन्यजन्तु, विशेषगरी हिउँचितुवा, ब्वाँसो, भालु तथा जङ्गली कुकुरको आक्रमणबाट बचाउन चरन क्षेत्रमा गोठालोको नियमित निगरानी, तालिमप्राप्त रक्षात्मक कुकुरको प्रयोग, बलियो गोठ निर्माण, रातिको समयमा सुरक्षित घेराबार, समूहमा चराउने व्यवस्था तथा क्यामरा ट्यापिङ वा घण्टी जस्ता निगरानी उपकरणको प्रयोग प्रभावकारी मानिन्छ । 

चौँरीको दूधलाई प्रसस्त भिटामिन भएको तरल तथा खानाको रुपमा लिने गरिन्छ । विशेषतः चौँरीको दूधमा बोसो, प्रोटिन र क्याल्सियम बढी हुने गर्दछ ।

दूधबाट निकालिने घीउमा औषधिजन्य वस्तुको रुपमा प्रयोग गरिने र त्यसलाई सामाजिक तथा धार्मिक कार्यहरुः विवाह, भोज, पर्व, सामूहिक माहोत्सवहरुमा विशेष महत्वका साथ उपयोग गरिने चलन रहेको छ ।

यसको दूधबाट विभिन्न प्रकारका छुर्पीहरु पनि उत्पादन गरिन्छ । ती छुर्पी स्वदेशमा मात्र नभएर अमेरिका, युरोप, जापान तथा कोरिया लगायतका देशहरुमा पनि निर्यात हुने गर्दछ । यसबाट उत्पादन हुने चिज सामान्य घरपरिवारदेखि ठूला तारे होटलहरुमा पनि प्रयोग हुँदै आएको छ ।

विश्वका धेरै मुलुकहरुमा पनि यसको माग रहने गर्दछ । कति देशहरुमा छुर्पीलाई घरपालुवा कुकुरको खानामा समेत प्रयोग गर्नका लागि नै नेपालबाट पैठारी हुँदै आएको छ । चौँरीको गोबरलाई पनि जैविक मल तथा इन्धनका रुपमा प्रयोग गरिन्छ । चौँरी हिमाली जिल्लाको पहिचान तथा बहुउपयोगी वस्तु भएकै कारण यसलाई पर्यटकीय सम्पदासँग जोडेर पनि हेर्न सकिन्छ । 

चौँरीपालनका प्रमुख समस्यारू 
नेपालमा वर्षौंदेखि चौँरीपालन हुँदै आएको भए पनि पछिल्लो समय यसप्रति किसानहरुको आकर्षण विस्तारै घट्दै गएको देखिन्छ । चौँरीपालनमा देखिएका समस्याहरु निम्न रहेका छन् : 

जलवायु परिवर्तन : पृथ्वीको तापक्रम, वर्ष, हावापनी, तथा अन्य मौसमी अवस्थाहरुमा दीर्घकालीन रुपमा हुने परिवर्तनलाई जलवायुु परिवर्तन भनिन्छ ।

यसको प्रमुख कारण तापक्रम हरित ग्यासको वृद्धि, वन विनाश, इन्धनको अत्यधिक प्रयोग तथा औद्योगिकीकरण हो । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि, हिम नदी पग्लिनुु, अनियमित वर्ष, वाढी, पहिरो, खडेरी तथा जैविक विविधतामा ठूलो प्रभाव पर्ने देखिन्छ ।  

चरन क्षेत्रको अभाव : सामुदायिक वन विस्तार तथा भूमि उपयोग परिवर्तनका कारण खर्क क्षेत्र घट्दै गएको छ । चौँरीलाई आवश्यक पर्ने आहार, घाँसेमैदान संरक्षणमा ध्यान दिन नसक्दा यसको खानामा ठूलो समस्या आउन थालेको छ । 

पशुु स्वास्थ्य सेवाः दुर्गम हिमाली क्षेत्रमा पशु स्वास्थ्य सेवाको खासै सुविधा देखिँदैन । वातावरण प्रदूषण तथा जलवायु परिवर्तनका कारण विभिन्न रोग फैलँदै गएका छन् । यसले गर्दा चौँरी पाल्ने कृषकहरुलाई ठूलो मार परेको छ । आर्थिक हिसावले चौँरीको मूल्य धेरै पर्ने हुँदा त्यसमा रोग लागेर मर्न जाँदा किसानलाई ठूलो आर्थिक चार थपिन्छ । 

बजार पहँुुच : चौँरीपालनबाट तयार गरिएको दूध, दही, चिज, घ्यू, छुर्पी आदि उत्पादन बिक्री गर्दा कृषकले उचित मूल्य पाउँदैनन् । लगानी तथा मिहेनत अनुसारको मूल्य मात्र नभई कुनै बेलामा तथा उपयुक्त बजार पनि पाउँदैनन् ।

विगतमा चौँरी प्रजातिलाई सजिलै तिब्बतमा निर्यात गर्न सकिन्थ्यो तर हाल उक्त कार्यलाई सरकारको कानुनले त्यसो गर्न दिदैन । विदेशमा लगरेर बेच्ने कुनै सरकारी नियम नभएकाले बजारको पनि ठूलो समस्या देखापरेको छ । 

जनशक्ति अभाव : दिन प्रतिदिन युवाहरू विदेश पलायन हुँदा गएका छन् । चौँरी पाल्ने वा गोठको हेरचाह गर्ने कसैले पनि गर्ने कार्य परम्परागत नै चलिआएको छ ।

उनीहरुलाई दक्ष बनाउने, तालिम प्रदान गर्ने, जनचेतनामूलक कार्यसम्बन्धी कुनै निकायवाट जानकारी गराएको देखिँदैन । यसले गर्दा नयाँ व्यवसायीहरु यस पेसामा प्रवेश नै गर्न रुचाउँदैनन् भने गरिराखेकाहरु पनि अर्को व्यवसायको खोजीमा रहेको देखिन्छ । 

अन्त्यमा, चौँरी गाई नेपालको हिमाली क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिएको अमूल्य सम्पदा हो । चौँरीपालनले हिमाली समुदाययाई खाद्य सुरक्षा, पोषण, रोजगारी तथा आयाार्जन प्रदान गर्दै आएको छ ।

यद्यपि जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, बजार वस्थापनको कमजोरी र जनशक्ति पलायनले यस क्षेत्रलाई चुनौति पूर्ण अअवस्थामा पु¥याएको छ । सङ्घ सरकार, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय गरी चौँरीपालनको आधुनिकीकरण, व्यावसायीकरण तथा संरक्षण गर्न सकेमा यो व्यवसाय हिमाली क्षेत्रको दिगो आर्थिक विकासको आधार बन्न सक्छ ।

राष्ट्रिय चौँरी विकास नीति, खर्क संरक्षण तथा व्यवस्थापन, चौँरीजन्य उत्पादनको ब्रान्डिङ, पशु स्वास्थ्य सेवा, युवा लक्षित कार्यक्रम, चौँरी अनुसन्धान केन्द्र, पर्यटनसँग जोड्ने कार्यक्रम, राष्ट्रिय चौँरी महोत्सव, अनुदान जस्ता प्रवद्र्धनका कार्यक्रम आवश्यक रहेको छ ।

चौँरी संरक्षण गर्नु भनेको केवल एउटा घरपालुवा वस्तुको संरक्षण मात्र नभई नेपालको हिमाली सभ्यता, संस्कृति, जैविक विविधता र परम्परागत प्रणालीको संरक्षण पनि हो । (लेखक पर्यटनविद् हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan