Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार |

नारायणगढ (चितवन), ३० कात्तिकः जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना घटेका छन् भने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना सङ्कलन बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा घटस्थापनादेखि कात्तिक २४ गतेसम्म ६६ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८३÷८४ मा असोज २५ देखि कात्तिक २६ गतेसम्म ३४ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् ।

कार्यालयका अनुसार सडक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको ट्राफिक कारबाही तथा जरिवाना सङ्कलनमा भने उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा एक हजार ३५ वटा सवारीसाधन कारबाहीमा परेका थिए । त्यसबाट रु नौ लाख २४ हजार ५३१ जरिवाना सङ्कलन भएको थियो ।
 
चालु आर्थिक वर्षमा कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढेर एक हजार ८६१ पुगेको छ । यसबाट रु १७ लाख ७२ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
 
मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथिको कारबाही भने यस वर्ष घटेको छ । गत आर्थिक वर्षमा ६९ वटा मापसे कारबाहीबाट रु ३७ हजार राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा ५६ वटा कारबाहीबाट रु ३० हजार सङ्कलन भएको छ ।
 
त्यस्तै, लागू पदार्थ सेवन गरी सवारी चलाउनेमाथि गत आर्थिक वर्षमा कुनै कारबाही नभएकामा यस वर्ष २४ वटा कारबाही भएका छन् ।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापाले अनुसार चाडपर्वलाई लक्षित गरी गरिएको कडा ट्राफिक चेकजाँच, नियम उल्लङ्घन गर्नेमाथिको कारबाही तथा जनचेतनामूलक कार्यक्रमका कारण सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको बताउनुभयो ।

उहाँले चाडपर्वको समयमा मात्र नभई अन्य समयमा पनि सवारी नियमको पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गर्नुभयो । सुरक्षित यात्रालाई प्राथमिकता दिन पनि उहाँले चालक तथा यात्रुलाई अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan