Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | (रासस)

गण्डकी, २८ कात्तिक: जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।   

    मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई, महिला तथा बालबालिकामाथि दुव्र्यवहार गर्ने दुई र झण्डीबुर्जा खेलाउने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार सोही अवधिमा ८१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । तीमध्ये ५७ जना सवारीसाधनका चालकलाई मादकपदार्थ सेवन गरेको अवस्थामा र एक जना सवारीचालकलाई अन्य ट्राफिक कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । 

    तेइस वटा सवारीसाधनलाई वडा प्रहरी कार्यालय, बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको हो । पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले यही कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरू गरेको थियो । 

    उक्त अपरेसनअन्तर्गत हालसम्म १४० जना व्यक्ति र २९३ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झैझगडा, आपसी विवाद, पर्यटकलाई दुव्र्यवहार गर्नेजस्ता अनैतिक तथा अवाञ्छित गतिविधिका कारण लेकसाइड क्षेत्रको पर्यटकीय छविमा आँच पुगेको र शान्तिसुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि विशेष प्रहरी अपरेसन ‘अपरेसन सम्भयता’ सुरु गरिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan